राजविराज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सप्तरीमा वडा अधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको छ ।
वडास्तरमा निर्वाचनका लागि खटाइएका मतदान अधिकृतलाई पुनः फिर्ता बोलाइएको विषयमा असन्तुष्टि जनाउँदै केही युवाहरूले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दी गर्ने पक्षले यसअघि पहिलोपटक प्रकाशित गरिएको मतदाता तथा निर्वाचनसम्बन्धी सूचीलाई नै आधार बनाएर वडा अधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको छ । उनीहरूले पहिलो सूचीअनुसार निर्वाचन गराउन आफूहरू तयार रहेको, तर त्यसपछि परिवर्तन वा थप गरिएको सूचीलाई मान्यता दिन नहुने बताएका छन् ।
उनीहरूका अनुसार पहिलोपटक प्रकाशित सूची नै आधिकारिक आधार बनाएर निर्वाचन प्रक्रिया अघि बढाउनुपर्छ । पुरानो सूचीलाई मान्यता दिई सोहीअनुसार निर्वाचन प्रक्रिया अघि नबढाएसम्म तालाबन्दी जारी राख्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।
मतदाता सूची र मतदान अधिकृतको विषयमा विवाद उत्पन्न भएपछि सप्तरीमा कांग्रेसको वडा अधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्