वीरगन्ज,५असोजःपर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ रंगपुरमा चिस्यान केन्द्र (कोल्ड स्टोर) सहितको आधुनिक कृषि बजार निर्माण भएको डेढ वर्षपछि सञ्चालनमा आएको छ ।
किसानका उत्पादन संकलन र बिक्री वितरण तथा भण्डारणका लागि रंगपुरमा १ करोड ३० लाख रुपैयाँको लागतमा चिस्यान केन्द्र सहितको आधुनिक कृषि बजारको भवन निर्माण गरी २०८१ फागुन ६ गते औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको थियो । तर निर्माण सम्पन्न भई उद्घाटन गरिएको उक्त कृषि बजार डेढवर्षदेखि सञ्चालनमा भने आउन सकेको थिएन ।

सोमबारदेखि भने नवनिर्मित संचरनामा कृषि बजार सञ्चालनमा ल्याइएको वडाध्यक्ष विजय गैरेले जानकारी दिए । संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र गाँउपालिकाको गरी कूल १ करोड ३० लाख रुपैयाँको लागतमा निर्मित आधुनिक कृषि बजारमा पहिलो दिन सोमबार साना ठूला गरी तरकारीका १ सय २० वटा पसल थापिएको उनले बताए । उनका अनुसार, यसअघि वर्षौदेखि रंगपुर बजारको सडकमा हरेक हप्ताको सोमबार र शुक्रबार गरी दुई दिन लाग्ने हाट बजार सोमबारदेखि भने नवनिर्मित कृषि बजारमा लाग्ने छ ।
वडा नम्बर २ कै भुमरीमाई कृषि सहकारी संस्थालाई व्यवस्थापनको जिम्मा दिएर कृषि बजार सञ्चालनमा ल्याइएको वडाध्यक्ष गैरेले बताए । कृषि बजारमा पसल थाप्न तत्कालका लागि किसान र व्यपारीलाई निःशुल्क गरिएको भन्दै गैरेले बजार व्यवस्थित र नियमित हुन थालेपछि अवस्था हेरेर ६ महिनापछि शुल्कपनि लगाइने बताए । उनले भने, ६ महिनापछि बजार व्यवस्थापन र सञ्चालनका लागि टेण्डर गरेर ठेक्का लगाउँछौं ,अहिले भने निःशुल्क छ ।

कृषि बजारको निर्माण सम्पन्न भई डेढ वर्ष पहिले नै उद्घाटन गरिएको भएपनि केहि काम अुधरै रहेका कारण बजार सञ्चालनमा ल्याउन ढिलाई भएको उनले बताए । उनले भने, बिद्युत लगायतका केहि अधुरा कामहरु सकेर आजदेखि बजार सञ्चालनमा ल्याएका हौं । यसका लागि किसान र व्यपारीहरुलाई हामीले सूचना गरेर आग्रह पनि गरेका थियौं । सर्वदलीय बैठक बसेर बजारको व्यवस्थापन र सन्चालनका लागि निर्णयपनि गरेका थियौं ।
उक्त आधुनिक कृषि बजारमा किसानले उत्पादन गर्ने तरकारी संकलन र बिक्रीवितरणका लागि ६ वटा व्यवस्थित पक्की सेड, एउटा शौचालय र कम्पाउन्ड वाल निर्माण गरिएको छ । यस्तै किसानका तरकारी भण्डारणका लागि कृषि बजार परिसरमै १९ लाख १९ हजार रुपैयाँको लागतमा मिनि कोल्ड स्टोर(चिस्यान केन्द्र)पनि निर्माण गरिएको छ । उक्त चिस्यान केन्द्रको क्षमता १ मेट्रीक टन रहेको छ।केन्द्र भवनभित्रै स्तनपान कक्षपनि निर्माण गरिएको वडाध्यक्ष गैरेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्